राजबिराज, १७ कार्तिक । काठमान्डौमा संचालित प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेशले छिमेकी टोली प्रदेश १ लाई ७२ रनले हराउँदै विजयी सुरुवात गरेका छन् ।
विकेटकिपर अनिल शाह र अलराउन्डर रुपेश सिंहको अलराउन्ड प्रदर्शनमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात भएको हो ।
जितको लागि २ सय १५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश एक ४३.१ ओभरमा १ सय ४२ रनमा अल आउट भयो । प्रदेश एकको लागि लव कामतले ९४ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाए ।
ओपनर निरज मुखिया ६, अंकित सुवेदी शून्य, मिनाश थापा १२, सोनु अन्सारी १०, विवेक आनन्द मेहता २५, सिद्धान्त लोहनी शून्य, फिर्दोस अन्सारी २२, सोनु मण्डल र दीपक जोशीले ११/११ रन बनाए ।
मधेशका लागि मोहम्मद आदिल आलाम, रुपेश सिंह, प्रदीप पासवान र विशाल शुश्लिङले दुई दुई विकेट लिए ।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मधेश ४८.१ ओभरमा २ सय १४ रनमा अल आउट भयो । मधेशको लागि विकेटकिपर अनिल शाहले ८९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए ।
विवेक यादवले ५४ बलमा २ चौका र १ छक्कासहित ३२ र रोहन विकले ४९ बलमा ४ चौकासहित २८ रनमा आउट भए । फिर्दोसले दुवै ओपनर सन्तोष कार्की र कप्तान हरिशंकर शाहलाई आउट गरेका थिए । सन्तोष फिर्दोसको पहिलो ओभरको पाँचौं बलमा शून्यमा एलबीडब्लू आउट भए ।
हरिशंकर १५ रनमा विकेटकिपर निरज मुखियाबाट क्याच आउट हुन पुगेका थिए । फिर्दोसले विवेक यादवलाई ७ र विशाल शुश्लिङलाई ३ रनमा आउट भएका थिए ।
फिर्दोसले प्रदीप पासवानलाई एक रनमा एलबीडब्लू आउट गर्दै पाँच विकेट पूरा गरेका थिए । उनको यो राष्ट्रिय प्रतियोगितामा पहिलो पाँच विकेट हो । तल्लोक्रमका रुपेशसिंह २५ बलमा ३० रनमा आउट भए ।
प्रदेश-१ का फिर्दोस अन्सारीले ९.१ ओभरमा १ मेडनसहित ३४ रन खर्चेर ५ विकेट लिए । सिद्धान्त लोहनीले १० ओभरमा १ मेडनसहित ४४ रन खर्चेर ३ विकेट लिए । श्रवण यादव र लव कामतले एक एक विकेट लिए ।
मधेशले दोस्रो खेल आइतबार लुम्बिनीसँग मूलपानीमा खेल्नेछ । प्रदेश एक पहिलो खेलमा पुलिससँग ७ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा बागमती प्रदेशलाई ६९ रनले हराएको थियो । आइतबार टियुमा लुम्बिनीसँग खेल्नेछ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |