राजबिराज, १९ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संघीय शैली परिवर्तन गर्नु पर्ने बताएका छन् ।
४ मङ्सिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जसपाले आज प्रतिबद्धता पत्र सार्वजनिक गर्दै यस्तो बताएका हुन् । सो प्रतिबद्धता पत्रमा सार्वजनिकका क्रममा संविधान संशोधनमार्फत १० प्रदेशको शैलीमा जाने बताए ।
यस्तै, बहिष्करणमा परेका समुदायलाई सामाजिक न्यायको प्रणाली विकास गरी समावेशी लोकतन्त्रको अभ्यास गर्नु पर्ने उनले बताए । जनता समाजवादी पार्टीले राजनीतिज्ञ र विशेषज्ञहरू मध्येबाट राष्ट्रपतिले मन्त्रीहरू नियुक्त गर्ने चुनावी प्रतिवद्धता गरेको छ ।
शक्तिपृथकीकरण को सिद्धान्तअनुरूप राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था अघि सारेको छ । जसपाले प्रदेशहरूमा मुख्यमन्त्री तथा विशेष संरचना र स्थानीय तहहरूमा त्यहाँको कार्यकारी प्रमुख पनि बालिग मताधिकारका आधारमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने चुनावी प्रतिवद्धता गरेको छ ।
संविधानमा रहेका त्रुटि र अपूर्णताहरूलाई संविधान संशोधनमार्फत पूरा गर्दै सर्वस्वीकार्य बनाउँदै राष्ट्रको उत्थान गर्ने चुनावी प्रतिवद्धतापत्रमा उल्लेख छ ।
घोषणापत्रमा नेपाललाई स्वतन्त्र, सार्वभौम, समावेशी, लोकतान्त्रिक, विभेदरहित, धर्मनिरपेक्ष, संघीय समाजवादी गणतन्त्रात्मक बहुराष्ट्रिय राज्यका रूपमा स्थापित गर्ने भनिएको छ ।
कार्य क्षमताको अभाव र खराब आचरण भएको वस्तुनिष्ठ आधार र कारणहरू भएमा सबै तहका सरकारको पदाधिकारीहरूमाथि प्रत्याह्वान गर्न वा महाअभियोग लगाउन सकिने व्यवस्था गर्ने उल्लेख छ ।
नागरिकहरूलाई गास, बास र कपासको व्यवस्था गर्न एक परिवार एक रोजगारको नीति अवलम्बन गर्ने चुनावी प्रतिवद्धतापत्रमा भनिएको छ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा लाई लक्षित गर्दै जारी घोषणापत्रमा बालिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गर्ने उल्लेख छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |