राजबिराज, १९ कार्तिक । लुम्बिनी प्रदेशलाई ९२ रनले पराजित गर्दै जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।
शनिबार मुलपानी क्रिकेट मैदानमा प्राप्त दोस्रो जितसँगै मधेसको सेमिफाइनल सम्भावना बलियो बनेको छ । मधेस प्रदेशले प्रस्तुत गरेको दुई सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनी ४९.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनमा समेटिएको थियो ।
लुम्बिनीका विशाल विक्रम केसीले सर्वाधिक ३४ रन बनाए । यसैगरि कृष्ण कार्कीले ३१, अनिल खरेलले २२, सन्दीप रजालीले २३ रनको योगदान गरेका थिए । अन्य ब्याटरले भने उल्लेख्य रन बनाउन सकेनन् । बलिङतर्फ मधेसका राजेश यादव र प्रदिप पासवानले सामान तीन अंक लिए । यसैगरी हरिशंकर शाहले दुई विकेट हात पारे ।
यस अघि टस हारेर ब्याटिङ गरेका मधेसले तीन खेलाडीको अर्धसतक मद्धतमा ४८.४ ओभरमा सवै विकेट गुमाउँदै दुई सय ५९ रन बनाएको थियो । ओपनर सन्तोष कार्कीले ६० बलमा पाँच चौका र तीन छक्का मदतमा ५० रन बनाए ।
प्लेअर अफ दि म्याच तथा कप्तान हरिशंकर शाहले ९० बलमा ७६ रन बनाए ।अनिल शाहले ५० रनको योगदान गरे । मघेसले बलियो सुरुवात गर्दै पहिलो विकेटको लागि एक सय ३० रनको साझेदारी गरेको थियो ।
लुम्बिनीका कृष्ण कार्कीले सर्वाधिक तीन विकेट लिए । यसैगरी अनिल खरेलले दुई विकेट हात पारे ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |