राजविराज, २० कार्तिक । सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले निर्वाचन आचारसंहिता पालना नगर्ने दल र उम्मेदवारलाई कार्यवाहीको चेतावनी दिएका छन्।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले आइतबार राजविराजमा आयोजना गरेको पत्रकारहरु सँगको निर्वाचन आचारसंहीता सम्बन्धी अभिमुखीकरण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले यस्तो बताएका हुन् ।
आचारसंहिता पालनाकै विषयमा सर्वदलीय बैठक बसेर राजनीतिक दल तथा उमेदवारहरुलाई पटकपटक सचेत गराएको जानकारी दिँदै उनले भने, “एकपटक फेरि सचेत गराउने हो, नमाने निर्वाचन आयोगमा लेखेर पठाउने हो।”
सरकारी कर्मचारीहरु बाट आचारसंहिता उल्लंघन भइरहेको समाचार सञ्चारमाध्यममा आएपछि आयोगमा तत्कालै जानकारी गराएको र उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधिएको बताए । पटकपटक सचेत गराउँदा पनि आचारसंहिता पालना नगर्ने दल तथा उमेदवारको उम्मेदवारीसमेत रद्द गर्न सक्ने अधिकार आयोगसँग सुरक्षित रहेकोले सचेत हुन आग्रह गरे ।
“आचारसंहिता कडा कानुनभन्दा पनि नैतिक आधारमा पालना गर्नुपर्ने पक्ष भएकोले निर्वाचन सकस पूर्ण नबनोस् भन्ने हामीले संयमता अपनाउने र समयानुकूल आक्रामकता देखाएर भए पनि स्वच्छ वातावरणमा निर्वाचन गराउन प्रयत्नशील छौँ,” रावलले भने ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले कतैबाट निर्वाचनलाई भाँड्न सक्ने खालको अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा निकाय सतर्क रहेको जानकारी गराए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले कतैबाट निर्वाचन भाँड्ने प्रयास गरिए त्यसलाई निस्तेज पारेर भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी तयार रहेको बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |