राजबिराज, २१ कार्तिक । समूहको आफ्नो अन्तिम खेलमा बागमती प्रदेशसँग बराबरी खेल्दै मधेस प्रदेश प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । मधेश प्रदेश सिनियर राष्ट्रिय क्रिकेटको इतिहासमै पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बागमतीलाई बराबरीमा रोक्दै मधेसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले खेल सकिन ४ बल बाँकी छँदा सबै विकेट गुमाएर १ सय ९० रन नै बनायो । लक्ष्य पछयाउने क्रममा बाग्मतीले १ सय ७५ रन बनाउँदा ७ बिकेट गुमाएको थियो । जितको लागि १५ रन आवश्यक हुँदा २५ रन बनाएका बिबेक मगरलाई प्रदिप पासवानले स्टम्प आउट गर्दै मधेशलाई खेलमा फर्काए ।
त्यसपछि जित्न २ रन आवश्यक हुँदा २८ रन बनाएका सुर्य तामांग ठूलो सट खेल्ने क्रममा पासवानबाट क्याच आउट भए। जित्न २ ओभरमा ३ रन आवश्यक हुँदा रुपेश सिंहले ४९ औं ओभरमा मात्र २ रन दिए ।
लक्ष्य पछयाउने क्रममा बाग्मती ९ विकेट गुमाइसकेको बागमतीलाई अन्तिम ओभरमा जितका लागि १ रन मात्र आवश्यक थियो । तर क्रिजमा रहेका बागमतीका रिजन ढकाललाई राजेश यादवले अन्तिम ओभरको दोश्रो बलमा एलबीडब्लू पार्दै खेल बराबरी पारे।
राम्रो सुरुवात गर्ने क्रममा बागमतीका शीर्ष तिन ब्याट्सम्यान रित गौतम, इशान पाण्डे र पृथु बास्कोटाले क्रमशः ३२, ३१ र ४० रन बनाएका थिए। कप्तान ज्ञानेन्द्र मल्लले २ रन मात्र बनाउन सके। मधेशका राजेश यादव र प्रदीप पासवानले ३र३ विकेट लिँदा रुपेश सिंहको नाममा २ विकेट रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेस ४६ ओभर २ बलमा १ सय ९० रनमा अलआउट भयो । मधेसका रोहन विकले सर्वाधिक ६३ रन बनाए । बलिङमा बागमतीका स्पिनर सूर्य तामाङ र तीव्र गतिका बलर नन्दन यादवले ३/३ विकेट लिए । प्रतिश जि सी र रामनरेश गिरीले २र२ विकेट लिए ।
जितसँगै ३ खेलबाट ५ अंक जोडेको दोस्रो स्थानमा रहँदै मधेस प्रतियोगितामा पहिलो पटक सेमिफाइनल पुगेको छ । यस समुहमा पुलिस ६ अंक सहित शीर्षस्थानमा रहँदै अन्तिम ४ पुगेको छ । अब पुलिस र मधेसबीचको खेलले समुह विजेताको छिनोफानो गर्नेछ । ४ खेल खेल्दा १ खेल बराबरी तथा अन्य तिन खेलमा हार पछि बागमती जितविहिन रह्यो। लुम्बिनीको ४ खेलमा ४ अंक तथा प्रदेश-१ को ४ खेलमा २ अंक रह्यो।
समुह ए बाट एपिएफ ४ खेलबाट ७ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ । अब भोलि हुने खेलमा कर्णालीलाई हराएको खण्डमा आर्मी उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्नेछ । तर कर्णाली विजयी भएको खण्डमा भने गण्डकी उपविजेता बन्दै अन्तिम चारमा पुग्नेछ ।
मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीलाई ५ विकेटले हराउँदै सुदुरपश्चिमले प्रतियोगितामा सान्त्वना जित निकाल्यो । १ सय ५१ रनको विजयी लक्ष्य सुदुरपश्चिमले २९ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ५० रन बनायो । जितसँगै सुदुरपश्चिम २ अंक बनाउँदै घर फर्किएको छ । यसअघिनै बाहिरीसकेको कर्णालीको यो लगातार तेस्रो हार हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |