राजबिराज, ०५ पुस । कान्तिपुर दैनिक पत्रिकामा कार्यरत पत्रकार अवधेशकुमार झालाई ज्यान मार्ने धम्की दिनेउपर कडा कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा मंगलबार ज्ञापनपत्र बुझाएको छ ।
सप्तरी पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देवको नेतृत्वमा गएका पत्रकारहरूको टोलीले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई ज्ञापनपत्र बुझाएको हो । महासंघ सप्तरीद्वारा बुझाएको ज्ञापनपत्रमा पत्रकार झालाई सामाजिक संजालमार्फत ज्यान मार्ने धम्की दिनेलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न आग्रह गरिएको छ ।
पत्रकार महासंघको ज्ञापनपत्र बुझदै प्रजिअ थापाले घटनालाई गम्भीरतापूर्वक लिएको भन्दै माग सम्बोधन गर्ने आश्वासन दिए । चरणबद्ध आन्दोलनका कार्यक्रम अनुसार दोश्रो दिन प्रजिअ गौतमलाई ज्ञापन–पत्र बुझाएको नेपाल पत्रकार महासंघका सचिव रामनारायण विश्वासले बताए ।
पत्रकार महासंघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै पुस ४ गते देखि १२ गते सम्मको बिभिन्न चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका थिए ।महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकार झालाई ज्यान मार्ने धम्की दिने व्यक्तिहरूलाई पक्राउ गरी कामकारबाही गर्न प्रहरीले आलटाल गरेको भन्दै स्थानीय प्रहरी–प्रशासनको आलोचना गरिएको छ ।
राजविराज नगरपालिका कार्यालयको समाचार लेखेकै कारण फेसबुकमा नसरुल राजा र मो. सजाद नामको फेसबुक आईडीबाट पत्रकार झालाई १९ मंसिर २०७९ मै ज्यान मार्ने धम्की दिँदा पनि जिल्ला प्रहरी कार्यालय सप्तरीले कारबाहीका प्रक्रिया अगाडि नबढाएको सर्वविदितै छ, महासंघले बुझाएको ज्ञापनपत्रमा, घटना लगत्तै मंसिर २० गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिदा समेत अपराधीलाई पक्राउ गर्न प्रहरीले तदारुकता नदेखाएकोले आन्दोलन गर्न बाध्य भएको उल्लेख छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |