राजबिराज, १५ पुस । मधेश प्रदेशको अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले नेपाल पत्रकार महासंघ सप्तरीको नवनिर्मित सभा गृहको उद्घाटन गरेको छ ।
शुक्रवार राजबिराज स्थित नवनिर्मित सभाको उद्घाटन गर्दै मन्त्री साहले अतिथि गृहको उद्घाटन गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गरे ।
प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकासका कार्यहरू धेरै भयो, मन्त्री साहले भने, पत्रकार महासंघको अतिथि गृहको उद्घाटन गर्ने अवसर पाउँदा आनन्द र फरक सन्तुष्टिको महुसुस गर्न पाए, यो भवनबाट पत्रकारहरूले सुविधा पाउने र उपयोग हुने विश्वास छ ।
मन्त्री साहले देशमा राजनीतिक क्षेत्रमा देखिएको परिवर्तन शुभ संकेत नभएको बताए । संसद्मा परिवर्तन विरोधी शक्तिहरूको उपस्थितिले राम्रो संकेत गरेको छैन, मन्त्री साहले भने, प्रतिगामी शक्तिहरूको उदयले सङ्घीयतामा चुनौती थपिएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था प्राप्तिका लागि पत्रकारहरूले गरेको योगदानको चर्चा गर्दै मन्त्री साहले फेरि संघीय व्यवस्थाको रक्षाको निम्ति पत्रकारहरूले आफ्नो कार्यक्षेत्रमा खबरदारी गर्नुपर्ने आवश्यकता आएको बताए ।
उनले सरकारले पहिचानको आधारमा २ नम्बर बाट मधेश प्रदेश नामाङ्कन गर्नु प्रमुख उपलब्धिको रुपमा रहेको बताए ।
मधेश विद्रोह र बिभिन्न पहिचान जनित आन्दोलनबाट प्राप्त उपलब्धि खतरामा रहेको बताउँदै प्राप्त उपलब्धिको रक्षा र थप अधिकार प्राप्तिका लागि परिवर्तन पक्षधर एकताबद्ध भएर संघर्ष गर्नुपर्नेमा जोड दिए ।
उक्त अतिथि गृह मधेश प्रदेश सरकारको ८५ लाखको लागतमा निर्माण भएको नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण कुमार देवले जानकारी गराए ।
सो अवसरमा नेपाल पत्रकार महासँघका पुर्व अध्यक्ष सहित संचारकर्मिहरूको उपस्थिति रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |