राजबिराज, २७ पुस । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रपत्रिका वर्गीकरणलाई निष्पक्ष र पार्दिशित बनाउने विश्वास व्यक्त गरेका छन् । बुधवार पत्रकार आचारसंहिता, मिडिया विकास कोष र पत्रपत्रिका वर्गीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएको हो ।
उनले भने पत्रकारिता क्षेत्रलाई थप मर्यादित, विश्वसनीय बनाउँदै भने पत्रकारितालाई अवरुद्ध गरेर अर्को बाटोबाट परिवर्तन हुन नसक्ने भएकाले यस क्षेत्रलाई नै विश्वसनीय बनाउनुको विकल्प नरहेको बताए ।
“पत्रकारिता अरु क्षेत्रबाट गर्न नसकिने विशिष्ट चरित्र हो”, बस्नेतले भने, “अन्य क्षेत्रबाट विकास गर्न वा तत्काल परिणाम निकाल्न सकिँदैन । तर सक्रिय, विश्वसनीय र साँचो पत्रकारितामार्फत तत्कालै परिणाम ल्याउन सकिन्छ ।”
पुराना पुस्ताले गरेका राम्रो कामको अनुशरण र अवलम्बन गर्दै जानुपर्ने र सच्याउनुपर्ने विषयमा छलफल गरेर समाधान खोज्दै जानुपर्ने उनले बताए ।पेशालाई मर्यादापूर्ण, विश्वसनीय बनाउन गहनरूपमा छलफल र मनन गर्नुपर्नेमा उनको जोड थियो ।
नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाईंले पत्रकारले विश्वसनीयता र सबैले पत्याउने ढंगले असल पत्रकारिता गर्नुपर्नेमा जोड दिए । यस क्षेत्रभित्र बाहिर र भित्र देखिएका समस्या समाधान गर्नुपर्ने बताउँदै उहाँले साझा समस्या पहिचान गरेर समाधानमा लाग्नुपर्ने बताए ।
नेपाल पत्रकार महासँघ सप्तरीको संयोजन र प्रेस काउन्सिल नेपालको आयोजनामा राखिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, मधेश प्रदेश आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादब, प्रेस काउन्सिल नेपालको मुख्य अधिकृत झबिन्द्र फुयाल,, शाखा सप्तरी पूर्व अध्यक्ष मुरली यादब, पूर्व केन्द्रीय सदस्य अबधेश झा लगायतले पत्रकारिता क्षेत्रमा देखिएको समस्या, चुनौती तथा आचारसंहिता पालना सम्बन्धमा धारणा राखेका थिए भने कार्यक्रम संचालन शाखा सप्तरी सचिव रामनारायण बिश्वासले गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |