राजबिराज, ३ माघ । राजबिराज वडा ६ का बिपन्न परिवारलाई सिरक वितरण गरेको छ । सोमवार राजविराज नगरपालिका वडा नम्बर ६ को कार्यालयले वडाका ३ सय ६० विपन्न, असहाय, वृद्धवृद्धा, एकल महिला, दलित तथा शारीरिक रुपमा अशक्त जनालाई फाइबर सिरक वितरण गरेको हो ।
चिसो सँगै वडाका विपन्न, असहाय, अशक्त वृद्धवृद्धाको जनजीवन थप कष्टकर बनाउँदै लगेपछि उनीहरूलाई थोरै भएपनि राहत प्रदान गर्ने उद्देश्यले सिरक वितरण कार्यक्रम आयोजना गरिएको सो अवसरमा वडा अध्यक्ष शशी चौधरीले बताए । उनले वडा कार्यालयमा रहेको विपद व्यवस्थापन कोषबाट उक्त सिरक खरिद गरी विपन्नलाई वितरणको व्यवस्था मिलाइएको समेत जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत प्रविण, नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख निरंजन यादव, वडा अध्यक्ष चौधरी लगायतले उक्त सिरक चिसो प्रभावित विपन्न समुदायलाई वितरण गरेका थिए ।
कार्यक्रममा विपन्न समुदायका १ सय ९० वृद्धवृद्धा, १ सय ४५ एकल महिला र ४५ जना शारीरिक रुपमा अशक्त भएकाहरूलाई सिरक प्रदान गरिएको सो वडा कार्यालयले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |