राजविराज, ९ माघ । नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले राजविराज घर भएका पूर्वराष्ट्रिय खेलाडी आलमलाई विराटनगरबाट नियन्त्रणमा लिइएको छ भने बारा जिल्ला घर भएका अन्सारीलाई सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानबाटै सोमबार बिहान नियन्त्रणमा लिएको हो ।
आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व अलराउण्डर हुन् । उनको नाममा एकैखेलमा १० विकेट लिएको कीर्तिमानी छ । पक्राउ परेका अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्ध खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।
त्रिवि क्रिकेट मैदान काठमाण्डौंमा नेपाल क्रिकेट संघ क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको साझेदारीमा गत पुस ८ गतेदेखि पहिलो संस्करणको टी– २० लिग प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा ५६ नेपाली र ३४ जना विदेशी खेलाडी सहभागी थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |