एजेन्सी । दक्षिणी टर्की र उत्तरी सिरियामा सोमबार बिहान गएको भीषण भूकम्पपछि अहिले मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । एसोसिएटेड प्रेसको रिपोर्टका अनुसार टर्की र सिरियामा भूकम्पका कारण अहिलेसम्म २ हजार ३ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।
अर्कोतर्फ टर्कीमा सोमबार ७.८, ७.६ र ६.0 रेक्टर स्केलको लगातार तीनवटा भूकम्प गएको छ । हालसम्म टर्कीमा मात्रै १४९८ जनाको मृत्यु भएको छ भने ८५३३ जना घाइते भएको बताइएको छ । पछिल्लो १२ घण्टामा टर्कीमा फरक–फरक तीव्रताका ४६ वटा भूकम्पको धक्का महसुस गरिएको छ ।
सिरियामा पनि मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ अहिले सम्म मृत्यु हुनेको संख्या ७ सय ८३ पुगेको छ । अझै पनि सयौं मानिस भग्नावशेषमा फसेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
यो भूकम्प यति शक्तिशाली थियो कि यसको धक्का साइप्रस, ग्रीस, जोर्डन, लेबनान, सिरिया, बेलायत, इराक र जर्जियालगायत अन्य देशहरूमा पनि महसुस गरिएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |