राजविराज । तिलाठी कोइलाडी गाउँपालिकाका बालबालिकाहरूका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन सम्बन्धी दुई दिने तालिम सम्पन्न गरिएको छ ।
युनिसेफको सहयोगमा गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाद्वारा सो तालिमको आयोजना गरिएको थियो । तालिमबाट बालबालिकाहरूले स्वयं आफैले जोखिम पहिचान गर्न, विश्लेषण गर्न, योजना बनाई कार्यान्वयन गर्न र जोखिम न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।
बालबालिकाहरूले आफ्नो ज्ञान, सीपको प्रयोग गरेर प्रौढहरुसंगै सुरक्षित र उत्थानशील समुदाय बनाउन योगदान दिन सक्षम बनाउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
अधिकृत झाले कुनैपनि खालको विपदमा सबैभन्दा बढी बालबालिका प्रभावित हुने गरेको तथा विपद् पश्चात बालबालिकाले आफ्नो बाल अधिकारको उपयोग तथा उपभोग गर्नबाट वञ्चित हुनुपर्ने अवस्था उत्पन्न हुने गरेकोले बालबालिकालाई विपद्को जोखिमबाट बचाई समाजलाई उत्थानशील बनाउन बालबालिकाको क्षमता विकास गर्न तालिमको आयोजना गरिएको छ ।
सो तालिममा गाउँपालिका स्तरीय बाल क्लब सञ्जाल तथा वडा बाल क्लबका प्रतिनिधिहरू गरी ४२ जनाको सहभागिता रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |