काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली क्रिकेट खेलाडीलाई पुरस्कृत गर्ने भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजमा लगातार तीन खेल जितेपछि सरकारले खेलाडीलाई पुरस्कृत गर्ने भएको हो ।
प्रधानमन्त्री दाहाल प्रचण्डले टोलीलाई बधाई दिँदै पुरस्कृत गरिने घोषणा गरेका हुन् । शनिबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्रीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाली टोलीको प्रशंसासमेत गरेका छन् ।
‘काठमाडौंमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलामा उत्कृष्ट प्रदर्शनबाट लगातार तेस्रो जित निकाल्न सफल भएकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै उत्कृष्ट खेलाडीहरूलाई सरकारको तर्फबाट प्रोत्साहित र पुरस्कृत गरिने विश्वास दिलाउँछु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।
घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा जितको ‘ह्याट्रिक’ पूरा गर्ने क्रममा नेपालले शनिबार नामिबियालाई ३ विकेटले हरायो । जारी शृङ्खलामा नामिबियाविरुद्ध नेपालको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा नामिबियाविरुद्ध नेपाल २ विकेटले विजयी भयो । दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो ।
विगत सिरिजमा नेपालको प्रमुख समस्या ब्याटिङ मानिन्थ्यो । अधिकांश खेलमा नेपाललाई २ सय रन कटाउन पनि मुस्किल पर्थ्यो । ब्याटिङ नचलेकै कारण नेपालले विगतमा जित नजिक पुगेका धेरै खेल गुमायो ।
यद्यपि जारी सिरिजमा भने नेपालले तीनवटै खेल लक्ष्य पछ्याउने क्रममा पूरा गर्यो । यी तीनै खेलमा नेपालले २ सय ७० भन्दा माथिको लक्ष्य प्राप्त गरेको थियो ।
र, तीनवटै खेलमा नेपालले उत्कृष्ट ब्याटिङ गर्दै थुप्रै कीर्तिमान बनायो । लगातार उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली टोलीको अहिले चौतर्फी प्रशंसा भइरहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |