काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् ।
उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छोडिदियो । तर, उनलाई विदेश जान अदालतले रोक लगाएको छ । यसविरुद्ध सन्दीपले एक साताअघि सर्वोच्चमा पुनरावेदन गरेका हुन् । अदालत स्रोतका अनुसार सन्दीपले गरेको पुनरावेदनमा फागुन १२ गतेलाई पेसी तोकिएको छ ।
सरकारी वकिलको कार्यालयले सन्दीपलाई जेलमै राखेर मुद्दा अगाडि बढाउनुपर्ने माग गरेको छ । उक्त पुनरावेदनमा सर्वोच्चले पाटन उच्च अदालतको फैसलाको मिसिल झिकाउने आदेश दिएको थियो । नेपाली क्रिकेट टीम यूएई र पपुवान्यूगिनी विरुद्धको म्याच खेल्न आगामी १३ गते दुबई जाँदैछ ।
अदालतले विदेश जान रोक लगाएकाले सन्दीप सो टिममा रहने छैनन् । तर, यदि १२ गते सर्वोच्चको पेसीले उक्त रोक फुकुवा गरिदियो भने सन्दीपलाई यूएई जान बाटो खुल्नेछ । उनी नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य हुन् । हाल घरेलु मैदानमा जारी त्रिकोणात्मक श्रृंखलामा उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |