सुर्खेत, बिरेन्द्रनगर । नेपाल क्रिकेट संघ (क्यान) को सुर्खेतमा सम्पन्न साधारणसभाले पाँच जना केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
कर्णाली प्रदेशको सुर्खेतमा फाल्गुन १४ र १५ गते सम्पन्न साधारण सभाले ५ जना क्यानका केन्द्रीय सदस्यहरू संजयराज सिंह, दाउद अन्सारी, ऋषिराम गौतम, अमितवीर पाण्डे र करण महतरा क्षेत्रीलाई स्पष्टीकरण सोध्ने साधारणसभाले निर्णय गरेको हो । उनीहरूलाई विधानविपरीत संघको विरुद्धमा पत्रकार सम्मेलन गरेको र साधारणसभामा अनुपस्थित भएको आरोप लगाइएको छ ।
यसअघि पाँच केन्द्रीय सदस्यसहित राखेपबाट प्रतिनिधि भएर केन्द्रीय सदस्य बनेका छुम्बी लामा र धर्मराज गिरीले नेपाल टी-२० लिग भारतीय कम्पनीलाई दिएर क्यानले ऐनविपरित काम गरेको भन्दै अध्यक्ष चतुरबहादुर चन्दसहित तत्कालीन कार्यवाहक सचिव प्रशान्त मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यद्वय दुर्गाराज पाठक र पदम खड्काको राजीनामा मागेका थिए।
साथै कार्यवाहक सचिव नियुक्ति प्रक्रिया विधान विपरित भएको र टी-२० लिगमा भएको स्पट फिक्सिङमा क्यान नेतृत्व पनि दोषी रहेको भन्दै राष्ट्रिय खेलकुद परिषदमा कारबाहीका लागि निवेदन दिएका थिए । साधारणसभाले पाँच जना केन्द्रीय सदस्यबाट चित्त बुझ्दो जवाफ नआए निलम्बन गर्न केन्द्रीय समितिलाई अधिकार दिएको छ ।
यस्तै क्यानले खेलकुद परिषदमा दिएको निवेदनमा समर्थन गरेको भन्दै बागमति प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्नेतलाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । साधारणसभाले आगामी साउन मसान्तभित्र जिल्ला, प्रदेश र केन्द्रीय निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन पनि केन्द्रीय कार्यसमितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
नेपाल टी-२० लिगको आयोजनाका लागि सम्झौता भएको भारतीय कम्पनी सेभेन थ्री प्रालिका प्रमुख जतिन अहुवालिया नै फिक्सिङमा संग्लन रहेको भन्दै सम्झौता रद्द गर्ने निर्णय भएको छ । साथै क्यानलाई सेभेन थ्रीले दिनु पर्ने रकम प्राप्त गर्नका लागि कानुनी प्रक्रिया अघि बढाउने पनि साधारणसभाले निर्णय गरेको कोषाध्यक्ष रोसन सिँहले जानकारी गराएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |