राजबिराज । नेपालले ओपनर आसिफ शेखको अर्धशतकप्रेरित खेलमा क्रिकेट विश्वकप लिग-२ मा पपुवा न्यु गिनी (पीएनजी) लाई ३ विकेटले हराएको छ । शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाई पूरा गरेको हो ।
नेपालका लागि आसिफले सर्वाधिक ८६ रन बनाए । त्यस्तै सन्दीप लामिछानेले ३५ रन बनाए । नेपाललाई १०५/७ को अवस्थाबाट जिततर्फ अग्रसर बनाउन आसिफ शेख र सन्दीप लामिछानेको साझेदारी महत्त्वपूर्ण रह्यो ।
नेपालले सुरुमै ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । भुर्तेल खेलको दोस्रो इनिङ्सको पहिलो बलमै रोयल डक भएका थिए । कुशल मल्लले भने २३ रन बनाए । नेपालका लागि अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्यु गिनी ४९.२ ओभरमा १ सय ७९ रनमा अलआउट भएको थियो । ओपनर टोनी उराले पपुवा न्यु गिनीबाट सर्वाधिक ३९ रन बनाए । उनले ५१ बल खेली २ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर किप्लन डोरिगाले २६ रन बनाए । सेसे बाउ र कप्तान असाद भाला समान ११ रनमा आउट भए ।
हिरी हिरीले ३१ रन बनाए । उनले ६३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । गौडी टिका १५, चाड सोपर र रिलेय हेकुरे समान ९ रनमा आउट भए । नोर्मन भानुआ १४ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले २–२ विकेट लिए । दीपेन्द्रले १० ओभरमा १ मेडन राख्दै ३० र सोमपालले १० ओभरमा ३९ रन खर्चे । करण केसी, कुशल मल्ल र सन्दीप लामिछानेले १–१ विकेट लिए ।
लिग–२ मा नेपालले पपुवा न्यु गिनीविरुद्ध यसअघि भएका तीन खेल नै जितेको थियो । तीनै खेल दुबईमा भएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय जोगाउन नेपालले आफ्नो बाँकी रहेको ५ मध्येको ३ खेल जित्नु पर्नेछ । नेपाल ३१ खेलमा ३० अङ्कसहित सात राष्ट्र सहभागी प्रतियोगितामा छैटौं स्थानमा छ ।
लिग–२ को शीर्ष तीन टोली जुलाई जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै पुग्ने छन् भने शीर्ष ५ राष्ट्रले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने छन् । अमेरिका ३६ खेलमा ३५ अङ्कसहित चौथो र यूएई ३० खेलमा ३१ अंक जोडी पाँचौं स्थानमा छ । पपुवा न्यु गिनी ३१ खेलमा ७ अङ्कसहित पुछारमा छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |