राजविराज, ११ चैत्र । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सप्तरीले संस्था भित्र सदस्यता शुद्धिकरणको अभियान सुरु गरेको छ । शाखा को कार्यसमितिको शनिवार सम्पन्न बैठक बाट शुद्धिकरण प्रक्रिया अधि बढाउन एक समिति गठन गर्ने निर्णय गरेको छ ।
शाखाका उपाध्यक्ष बैद्यनाथ यादवको संयोजकत्वमा सहसचिव गोपालप्रसाद गुप्ता र सदस्य कृष्णकुमार मण्डल रहने गरी तीन सदस्यीय ‘सदस्यता अनुसन्धान समिति’ गठन गर्ने निर्णय बैठकले गरेको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिद्वारा जारी गरिएको परिपत्रमा ‘सदस्यता शुद्धिकरण अभियान २०७९’ थालनी गर्ने निर्णय भए बमोजिम महासंघको यस शाखा समेतलाई अभियानमा साथ दिन गरिएको आह्वान स्वरुप पत्रकारितामा निस्क्रिय रहेका तथा राजनीतिक दलमा आबद्ध रही महासंघको सदस्यसमेत रहेकाहरुको सम्बन्धमा आवश्यक अनुसन्धानका लागि अनुसन्धान समिति’ गठन गरिएको छ र समितिलाई एक साताभित्र कार्यसमितिमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी प्रदान गरिएको छ ।
यो शुद्धिकरण अभियान अन्तर्गत पत्रकारितामा नरहेका तर महासंघको सदस्यता कायम भएकाहरु तथा पत्रकारिता गर्दागर्दै राजनीतिक दलमा आबद्ध भएकाहरुले स्वेच्छिकरुपमा सदस्यता त्याग गरेमा शाखाले मानार्थ सदस्यताका साथ स–सम्मान बिदाई गर्ने विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै शाखाका सदस्यहरूलाई २०७८/०७९ सालको सदस्यता नवीकरण गर्न यही चैत २१ गतेसम्मको अन्तिम म्याद दिएको छ र महासंघको यस शाखाको साधारण सभा आगामी बैशाख २५ गते गर्ने निर्णय गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |