राजबिराज । मिटरब्याज उठाएको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी राजविराजबाट सोमबार पक्राउ परेका हुन् ।
चर्को दरमा ब्याज असुलेको र धरौटीबापत राखिएको जग्गा फिर्ता नगरेको आरोपमा सप्तरीको विष्णुपुर गाउँपालिका–७ का शर्मालाई इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले राजविराज–७ स्थित घरबाटै उनलाई नियन्त्रणमा लिएको हो ।
उनीमाथि इलाका प्रहरी कार्यालय कल्याणपुरमा आपराधिक विश्वासघात र ठगी मुद्दामा जाहेरी परेको र अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
सरकारले शनिबार मात्र पीडितसँग पाँचबुँदे सहमति गर्दै मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो । सरकारले मिटरब्याजपीडितहरुको समस्या समाधानका लागि न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन गर्ने भएको छ ।
शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मिटरब्याज पीडितहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो आश्वासन दिएका हुन् । उनले मिटरब्याज पीडितहरुका समस्या दीर्घकालीन समाधानका लागि ऐनको व्यवस्था नभएकाले अब सरकारले ऐन निर्माणको काम थालिसकेको बताए ।
मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न र उनीहरुमाथि मुद्दा चलाउन सक्नेगरी ऐन तयारीको अन्तिम चरणमा रहेको छ प्रधानमन्त्री दाहालले भने उच्चस्तरीय आयोग ‘र्यापिड एक्सन पोस्ट’ सरह काम गर्नेगरी अघि बढाइने बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |