राजबिराज, २१ चैत्र । जिल्ला प्रहरी कार्यालय सप्तरीको कार्यालय परिसर भित्रे जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई इन्स्पेक्टर नवीन थापा मगरले कुटपिट गरेको आरोपमा जसपाका नेता कार्यकर्ताहरूले राजविराजमा प्रदर्शन गरेका छन् ।
छलफलका क्रममा प्रहरी कार्यालय गएका अध्यक्ष यादवलाई प्रहरीले हातपात गर्दै कुटपिट गरी निधार फुटाएको छ । जसपाका कार्यकर्ताहरू जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं प्रवक्ता नरेश कुमार सिंहका अनुसार अध्यक्ष यादव महदेवा गाउँपालिकाको मुद्दालाई लिएर प्रहरी कार्यालयमा छलफलमा थिए । त्यस क्रममा प्रहरी निरीक्षक नवीन थापामगरसँग उनको विवाद भएपछि प्रहरी निरीक्षक थापामगरले हातपात गरेका थिए ।
हाल थापामगर प्रहरीको नियन्त्रणमा रहेको पनि डीएसपी सिंहले बताए । अध्यक्ष यादवले भने आफूलाई थापामगरले पहिले अपशब्द प्रयोग गरेको र पछि हातपात गरेको आरोप लगाएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |