राजबिराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको भिडियो एक्सरे र सिटिस्क्यान सेवा ठप्प भएको छ ।
एक महिनादेखि अस्पतालको भिडियो एक्सरे र सिटिस्क्यान सेवा बन्द हुँदा अस्पतालमा आएका बिरामीहरू मर्कामा परेका छन् । यता सेवाग्राहीहरू अस्पताल बाहिर चर्को रकम बुझाएर सेवा लिन बाध्य भएको छ । अस्पतालमा भिडियो एक्सरे र सिटिस्क्यान सुविधा भएपनि अस्पताल प्रशासनको उदासिनताको कारण संचालनमा आउन नसेको सेवाग्राहीहरु बताउँछन् ।
अस्पतालमा भिडियो एक्सरे र सिटिस्क्यान मेसिन छ, तर प्रयोगमा ल्याउने जनशक्ति अभावका कारण सेवा नै बन्द छ । एक सेवाग्राहीले भने, भिडियो एक्सरे र सिटिस्क्यान सेवाका लागि अस्पतालमा एकजना रेडियोलोजिस्ट डाक्टरको दरबन्दी छ । दरबन्दीअनुसार डाक्टर नहुँदा यहाँका नागरिकले अस्पतालबाट सहज र सुलभ सेवा पाउन सकेका छैनन् ।
अस्पतालमा भिडियो एक्सरे सेवा बन्द हुँदा निजी क्लिनिकमा महँगो शुल्कमा भिडियो एक्सरे गर्न बाध्य रहेको सेवाग्राही विनोद रामले बताए । आज सिटिस्क्यान गराउन आएको थिएँ, उनले भने, तर अस्पतालमा सेवा बन्द भएपछि महँगोमा बाहिरै गराउनु पर्यो ।
भिडियो एक्सरे विभागका (कन्सल्टेन्ट रेडियोलोजिस्ट) डाक्टर आशिष सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत फागुन २१ गते सरुवापछि भिडियो एक्सरे र सिटिस्क्यान नै पूर्ण रूपमा बन्द भएको अस्पतालका एक कर्मचारीले बताए ।
अस्पतालमा एक मात्र रेडियोलोजिस्ट थिए त्यसलाई पनि मन्त्रालयले गत फागुन २१ गते सरुवा गरेपछि रेडियोलोजिस्टको अभावमा भिडियो एक्सरे र सिटिस्क्यान सेवा रोकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहले बताए । यसबारे मन्त्रालयलाई पत्र गइसकेको छ, उनले भने, मन्त्रालयले रेडियोलोजिस्ट पठाएपछि भिडियो एक्सरे र सिटिस्क्यान सेवा पुनः सञ्चालनमा आउँछ ।
अस्पताल प्रशासनको लापरबाहीका कारण गजेन्द्रनारायण सिंह अस्पतालको अतिआवश्यक सेवा ठप्प हुँदा सेवाग्राहीहरूलाई मर्कामा परेको स्थानीहरू बताउँछन् । पछिल्लो एकवर्षदेखि अस्पतालमा उपचारसेवा खस्किदै गएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |