राजबिराज, १ जेठ । बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘सडकसुरक्षा सप्ताह’ शुरु गरिएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा, जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरी र सामुदायिक सेवा केन्द्रको आयोजनामा सचेतना अभियान शुरु गरिएको हो।
कार्यक्रममा सप्तरी प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले सप्तरीमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि शुरु गरिएको अभियान राम्रो रहेको बताए । “साँघुरो बाटो र धेरै सवारी साधन जथाभावी सञ्चालन हुँदा दुर्घटना बढेको छ, यसलाई नियन्त्रण गर्न अभियानले सहयोग पुग्नेछ”, उनले भने । सडक जनताको आधारशीला भएकाले ध्यान दिएर सडकको प्रयोग गर्न आग्रह गरे । “सडकलाई माया गरौँ, सकारात्मक सोच राखौँ, सडक दुर्घटना घटाऔँ”, उनले भने ।
ट्राफिक प्रहरीका इन्स्पेक्टर लक्ष्मण गिरीले यात्रु, चालक र सडक प्रयोगकर्ता अनुशासित भए सडक दुर्घटनामा कमी आउने बताए । “सडक दुर्घटना कम गर्न व्यक्ति नै जागरुक हुनुपर्छ”, उनले भने । जिल्ला समन्वय समिति प्रमुख शिव नारायण साहले ट्राफिक जनचेतनासम्बन्धी जानकारी घरघर र टोलटोलमा दिनुपर्नेमा जोड दिए ।
उक्त अभियान अन्तर्गत सवारी साधनमा स्टिकर, पम्पलेट चोकमा प्रत्येक दिन सवारी जाँच, सडक अतिक्रमण हटाउने, फुटपाथ व्यवस्थापन गर्ने, चालक, सहचालक र यात्रुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर लक्ष्मण गिरीले जानकारी दिए ।
उक्त अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी आचार्य रिजाल, सामुदायिक प्रहरी सेवा केन्द्रका हित नारायण लाल दास, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, नेपाल पत्रकार महासँघ केन्द्रिय सदस्य ललिता साह लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा बाजागाजा सहित प्रहरी, सामुदायिक प्रहरी र शिब्स स्कुलका छात्रछात्राको सहभागितामा नगरपरिक्रमा गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |