राजविराज, १२ जेठ । विद्यालयमा अध्ययनरत बालबालिकालाई विपद्को जोखिमबाट हुने असरबाट जोगाउन तथा समुदायमा सन्देश प्रवाह गर्न तिलाठी कोइलाडी गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
युनिसेफको सहयोगमा गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाद्वारा सो अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।
कुनैपनि खालको विपद्मा सबैभन्दा बढी बालबालिका प्रभावित हुने गरेको तथा विपद् पश्चात बालबालिकाले आफ्नो बाल अधिकारको उपयोग तथा उपभोग गर्नबाट वञ्चित हुनुपर्ने अवस्था उत्पन्न हुने गरेकोले बालबालिकालाई विपद्को जोखिमबाट जोगाउन अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले बताउनुभयो ।
बालबालिकाहरूको क्षमता अभिवृद्धि गरी उनीहरूले आफ्नो आवाज उठाउन सकुन् र सम्बन्धित निकायले उनीहरूको समस्या तथा कुरा सुनुन्, जसले विपद जोखिम न्यूनिकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय स्तरीय बाल क्लबका सदस्यहरूका लागि विपद् जोखिम न्यूनीकरण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको कार्यक्रम अधिकृत झाले जानकारी दिनुभयो ।
बालबालिकाहरूले स्वयं आफैले जोखिम पहिचान गर्न, विश्लेषण गर्न, योजना बनाई कार्यान्वयन गर्न र जोखिम न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने तथा बालबालिकाहरूले आफ्नो ज्ञान, सीपको प्रयोग गरेर प्रौढहरुसंगै सुरक्षित र उत्थानशील समुदाय बनाउन योगदान दिन सक्षम बनाउनु कार्यक्रमको उद्देश्य रहेको झाले बताउनुभयो ।
सो अभिमुखीकरण कार्यक्रम तिलाठी कोइलाडी गाउँपालिकाको राजेन्द्र देवकी मावि कोइलाडी, लक्ष्मी बल्लभ नरसिंह मावि बभनगामाकट्टी, जनता मावि तोपा, पब्लिक मावि लौनियाँ तिलाठी, उमेश्वर आधारभूत विद्यालय लौनियाँ, राजाजी आधारभूत विद्यालय बनरझुला र कृष्णकुमारी देवी राजपुत मेमोरियल आधारभूत विद्यालय बर्साइनमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |