राजविराज, ४ असार । सप्तरीको राजविराजमा संचालित सप्तरी प्रिमियर लिगको पाँचौ सिजन अन्तर्गत दोश्रो दिनको खेलमा बलान बिहुल सुपर किंग्स र बजाज खडक वारियर्सले विजयी सुरुवात गरेका छन् ।
सोमवार पहिलो खेलमा बलान बिहुल सुपर किंग्सले विजयी सुरुवात गर्ने क्रममा रुपनी राइडर्सलाई ८ विकेटले पराजित गर्यो । रुपनीले दिएको १२८ रनको लक्ष्य बलान बिहुलले १६.३ ओभरमा २ विकेट मात्र गुमाएर भेटायो ।
बलान बिहुलको ब्याटिंगमा ओपनर हसिम अन्सारीले सर्वाधिक ४४ रन बनाए जुन क्रममा ३१ बलमा १ चौका र ४ छक्का प्रहार गरे । अर्का ओपनर बिशाल यादवले ३६ रन बनाउदा कप्तान पवन सर्राफले अविजित ३० तथा बसिर अहमदले अविजित १६ रन बनाए। पवन र बसिरले तेश्रो विकेटको लागि अविजित ४१ रनको साझेदारी गरे।
खराब आउटफिल्डका कारण ढिला सुरु भएपछि १७ ओभरमा छोट्याएर खेलाइएको खेलमा टस जितेर ब्याटिंग गर्दै ८ विकेट गुमाएर १२७ रन बनायो। उसको लागि अरनिको यादवले सर्वाधिक ४२ रन तथा भोला शाहले ३० रन योगदान दिए । बलान बिहुलको बलिंगमा प्लेयर अफ द म्याच समेत घोषित बसिर अहमद र रुपेश सिंहले ३/३ तथा सर्वन यादव र रोबिन सिंहले १/१ विकेट लिए ।
दिनको दोश्रो खेलमा बजाज खडक वारियर्सले छिन्नमस्ता लायन्सलाई ३ विकेटले पराजित गर्यो। छिन्नमस्ताले दिएको १२४ रनको लक्ष्य खडक वारियर्सले ७ विकेट गुमाएर १६.५ ओभरमा भेटायो । खडक वारियर्सको लागि सन्दिप रजालीले सर्वाधिक ४० रन बनाए जुन क्रममा उनले मात्र १८ बलमा ६ चौका र २ छक्का प्रहार गरे। कप्तान बिबेक यादवले २३, साहिल पटेल र विशाल सुश्लिंगले समान १६ रन बनाए । छिन्नमस्ताका बलर कमल खत्री र नितेश यादवले २/२ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १२३ रन बनायो। उसको लागि ओपनर इमरान शेखले सर्वाधिक ३६ रन, हिमांशु दत्ताले १८ रन तथा कप्तान शरद भेसावकरले १० रन योगदान दिए ।
खडक वारियर्सका फास्ट बलर दिनेश अधिकारी एक्लैले ५ विकेट लिए जुन क्रममा ४ ओभरमा २७ रन खर्चिए। अधिकारी प्लेयर अफ द म्याच घोषित भए । अनिल खरेल र अनिल यादवले १/१ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत तेश्रो दिन मंगबार पनि दुई वटा खेल हुनेछन् । दिनको पहिलो खेलमा विहान ९ बजे छिन्नमस्ता लायन्स र राजविराज द किंग तथा दिउँसो १ बजे दोश्रो खेलमा कन्चनरुप राइनोज र बलान बिहुल सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।
सप्तरी प्रिमियर लिगको आयोजनामा जारि प्रतियोगितामा सप्तरीका ६ वटा फ्रेन्चाइज टिमको सहभागिता रहेको सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |