राजबिराज, ५ असार । सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिगको तेश्रो दिन सम्पन्न दुई खेलमा शरद भेसावकर कप्तानीको छिन्नमस्ता लायन्स र अविनाश कर्ण कप्तानीको कन्चनरुप राइनोज विजयी भएका छन्।
दुवै टिमको यो पहिलो जित हो । दिनको पहिलो खेलमा छिन्नमस्ता लायन्सले राजविराज द किंगलाई ३६ रनले पराजित गर्यो । पब्लिक विन्देश्वरी मैदानमा छिन्नमस्ताले दिएको १५९ रनको लक्ष्य पछ्याउने क्रममा राजबिराज द किंगले १९ ओभरमा सबै विकेट गुमाएर १२२ रन बनायो। उसको लागि अभिषेक कार्कीले सर्वाधिक ४१ रन बनाए। बिक्रम सोबले २८ तथा तृत राज दासले १८ रन बनाए ।
टस हारेर ब्याटिंग गरेको छिन्नमस्ताले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १५८ रन बनायो । छिन्नमस्ताको लागि राहुल मण्डलले सर्वाधिक ५० रन बनाए जुन क्रममा प्लेयर अफ द म्याच समेत घोषित उनले ४० बलमा ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै शुभ कंसाकारले १९ बलमा ३२ रन बनाए । हिमांशु दत्ता र पप्पु यादवले समान १६ रन बनाए । कप्तान शरद भेसावकरले ११ रन बनाए ।
राजविराजको बलिंगमा अभिषेक कार्की , तृत राज दास र सन्तोष कार्कीले २/२ तथा बिक्रम सोबले १ विकेट लिए ।
दिनको दोश्रो खेलमा कन्चनरुप राइनोजले बलान बिहुल सुपर किंग्सलाई ७ विकेटले पराजित गर्यो । बलान बिहुलले दिएको १३८ रनको लक्ष्य १५ ओभरमा ३ विकेट क्षतिमा भेटायो ।
कन्चनरुपको लागि अमित यादवले सर्वाधिक ६७ रन बनाए जुन क्रममा ४२ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। सुमित श्रेष्ठले अविजित २७, राकेश कामतले २३ रन तथा अविनाश कर्णले २१ रन बनाए। चौथो विकेटको लागि अमित र सुमितले अविजित ६७ रनको साझेदारी गरे। बसिर अहमदले २ तथा रोबिन सिंहले १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको बलान बिहुल सुपर किंग्सले १७.१ ओभरमा सबै विकेट गुमाएर १३७ रन बनायो । उसको लागि पवन सर्राफले सर्वाधिक ५० रन बनाए जुन क्रममा २७ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। बसिर अहमदले २० तथा हसिम अन्सारीले १३ रन बनाए । कन्चनरुपको बलिंगमा राशिद खान, चित्र बिस्ट, पप्पु यादव र सुमित श्रेष्ठले २र२ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत चौंथो दिन बुधबार दुई खेल हुनेछन् । पहिलो खेलमा विहान ९ बजे राजविराज द किंग र बजाज खडक वारियर्स तथा दोश्रो खेलमा दिउँसो १ बजे कन्चनरुप राइनोज र रुपनी राइडर्स प्रतिस्पर्धा गर्नेछन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |