राजविराज, ७ असार । सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिग अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा बजाज खडक वारियर्स र छिन्नमस्ता लायन विजयी भएका छन् ।
दिनको खेलमा बजाज खडक वारियर्सले बलान बिहुल सुपर किंग्सलाई १ विकेटले पराजित गरेको छ । पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न खेलमा बलान बिहुलले दिएको १४४ रनको लक्ष्य खडक वारियर्सले २ बल बाँकी हुँदा ९ विकेट गुमाएर पुरा गर्यो ।
बजाज खडक वारियर्सको ब्याटिंगमा तेश्रो नम्बरमा ब्याटिंग गरेका सन्दिप रजालीले सर्वाधिक ८१ रन बनाए। प्लेयर अफ द म्याच घोषित उनले ४३ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। साहिल पटेल र अनिल यादवले समान १२ रन बनाए। दशौँ विकेटको लागि अनिल यादव र गोमानन्द अमात्य बीच २१ रनको अविजित साझेदारी हुँदा बलान बिहुल जितबाट बन्चित रह्यो ।
बलान बिहुलको बलिंगमा रोबिन सिंहले ३ तथा रुपेश सिंह र बसिर अहमदले २/२ विकेट लिएता पनि जित्न पर्याप्त रहेन ।
यस अघि टस हारेर ब्याटिंग गरेको बलान बिहुलले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १४३ रन बनायो। उसको लागि बिसाल यादवले २४, कप्तान पवन सर्राफले २२, रोबिन सिंहले १५ तथा हसिम अन्सारीले १४ रन बनाए । खडक वारियर्सका बलर बिबेक यादवले ३ तथा अनिल खरेल र गोमानन्द अमात्यले १/१ विकेट लिए।
दिनको दोश्रो खेलमा छिन्नमस्ता लायनले कन्चनरुप राइनोजलाई २५ रनले पराजित गर्यो । छिन्नमस्ताले दिएको १४४ रनको लक्ष्य पछ्याएको कन्चनरुपले १८.४ ओभरमा ११८ रनमा सबै विकेट गुमायो । कन्चनरुपको लागि अमित यादवले ३९ तथा पप्पु यादवले २६ रन बनाए । छिन्नमस्ताका बलर इमरान शेखले ४ विकेट तथा कमल खत्रीले ३ विकेट लिए। प्लेयर अफ द म्याच घोषित शेखले ४ ओभरमा २१ रन खर्चिए । पप्पु यादव, शरद भेसावकर र रेवती रोयले १/१ विकेट लिए ।
यस अघि टस हारेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १४३ रन बनायो । उसको लागि शुभ कंसाकार र हिमांशु दत्ताले समान ३५ रन बनाए । पप्पु यादवले १७ तथा राहुल मण्डलले १५ रन बनाए । कन्चनरुप राइनोजका बलर पप्पु यादवले ३ तथा राशिद खानले २ विकेट लिए ।
तिन वटै खेलमा शत प्रतिशत जितपछि बजाज खडक वारियर्स ६ अंक सहित अंकतालिकाको शिर्षमा छ । यस्तै ३ खेलमा दोश्रो जित पछि छिन्नमस्ता ४ अंक सहित दोश्रो स्थानमा छ । समान नतिजा र अंक सहित रुपनी राइडर्स नेट रन रेटको आधारमा तेश्रो स्थानमा छ । तेश्रो खेल खेल्दा दोश्रो हार पछि कन्चनरुप २ अंक सहित चौथो र समान नतिजा र अंक रहेको बलान बिहुल पाँचौ स्थानमा छ। सबै तिन खेलमा हार बेहोरेको राजविराज द किंग पुछारमा छ ।
प्रतियोगिता अन्तर्गत छैठौं दिन शुक्रबार पनि दुई खेल हुनेछन् । विहान ९ बजे सुरु हुने पहिलो खेलमा छिन्नमस्ता लायन्स र रुपनी राइडर्स तथा दिउँसो १ बजे सुरु हुने दोश्रो खेलमा बलान बिहुल सुपर किंग्स र राजविराज द किंग प्रतिस्पर्धा गर्नेछन् ।
सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगितामा ६ फ़्रेन्चाइज् टोलिको सहभागिता छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |