मधेश प्रदेश । मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपमा नेपालले २ सय २५ रनको फराकिलो अन्तरले थाईल्यान्डलाई पराजित गरेका छन् ।
मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो ।
जितको लागि २ सय ७० रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्ड १३.२ ओभरमा ४४ रनमा अल आउट भएको थियो । थाईल्यान्डका ८ खेलाडी शून्यमै आउट भएका थिए ।
थाईल्यान्डका ब्याटर डनुफोन फुआंयोटपिनिट १२, ईशान बानेर्जीले १६ र नतपाखान मनून ४ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले नेपालको बलिङ सामु खाता खोल्न सकेनन् । नेपालले १२ रन अतिरिक्त दिएको थियो । अर्थात थाईल्यान्डका ब्याटरले मात्रै ३२ रन जोडेका थिए ।
थाईल्यान्डलाई ४४ रनमै अल आउट गर्न युवा स्पिनर सन्तोष यादवले घातक बलिङ गर्दै ह्याट्रिकसहित पाँच विकेट लिए । सन्तोषले ३.२ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ५ विकेट लिए । स्पिनर अशोक धामीले तीन र अभिषेक तिवारीले दुई विकेट लिए ।
समूह ए मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनएसिया छन् । समूह ए को पहिलो खेलमा मलेसियाले थाईल्यान्डलाई पराजित गरेको थियो । त्यसैले समूह ए बाट नेपाल र मलेसिया दुबै सेमिफाइनलमा पुगेका छन् । नेपालले मलेसियासँग शुक्रबार खेल्नेछ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |