राजविराज, १७ असार । समुदायमा मुख्य न्यायाधिवक्ता संवाद कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायधिवक्ता बिरेन्द्र कुमार ठाकुरले मधेश प्रदेश अन्तर्गत ८ वटै जिल्लाबाट कानुनी सहायता कार्यालयको स्थापना गरी विपन्न, आर्थिक कमजोरलाई निशुल्क कानुनी सहायता गर्दै आएको बताएका छन ।
आईतवार मुख्य न्यायाधिवक्ता कार्यालय मधेश प्रदेश जनकपुरधाम कार्यालय द्वारा राजबिराजमा आयोजित समुदाय सँगको संवाद कार्यक्रममा सो कुरा बताएका हुन ।
सो अवसरमा मुख्य न्यायाधिवक्ता कार्यालय जनकपुरका कार्यालय प्रमुख मनोज प्रसाद गुप्ताले मधेश प्रदेशका मन्त्रालयहरू र ती मन्त्रालयहरू मातहतका कर्यालहरुको मुद्दा मुख्य न्यायाधिवक्ता को कार्यालय मधेश प्रदेशबाट प्रतिरक्षाको रूपमा काम गर्दै आएको बताउँदै समुदायमा परिचित गराउन कार्यक्रमको आयोजना गरिएको बताए ।
सो अवसरमा जिल्ला सरकारी वकिल कार्यालय सप्तरीका प्रमुख गोकुल सापकोटाले मुख्य न्यायाधिवक्ता कार्यालयले निशुल्क कानुनी उपचारका लागी सेवा प्रवाह हुने र प्रतिरक्षाको प्रतिनिधित्व गर्दै आएको बताए ।
उच्च सरकारी वकिल कार्यालयका उप न्यायाधिवक्ता उतम श्रेष्ठले भने मधेश प्रदेशमा मिटर ब्याजको समस्या विकराल रहेकोले यसको समाधान मेलमिलापबाट नै हुनुपर्ने बताउँदै सकारात्मक रूपमा आ-आफ्नो ठाउमा पहल गरेमा समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
यसैगरी कृषि विश्वविद्यालयका उपकुलपति डा. बैधनाथ महतोले राज्यले निशुल्क न्याय प्रणालीबाट अन्यायमा परेका समुदायका विपन्न, महिला, गरिब, आर्थिक रूपमा कमजोर तथा न्याय पहुँच नपुगेका लागी फलदायी हुने बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य किरण कुमारी साह, जिल्ला समन्वय समितिका सभापति शिवनारायण साह, उप सभापति शम्भु यादव, कानूनी व्यवसायी ,शिक्षक, मानव अधिकार कर्मी, पत्रकार, समाजसेवी, कार्यालय प्रमुख, महिला अधिकार कर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रम सञ्चालन प्रदेश कानुन अधिकृत अस्मिता थापाले गरेकी थिइन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |