मधेश प्रदेश । श्रीलङ्कामा चलिरहेको एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’ ले नेपाललाई ४ विकेटले हराएको छ । नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तान ‘ए’ ले ३२ ओभर पाँच बलमा ६ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तान ‘ए’ का लागि तैयव ताहिरले ५१ रन बनाए ।
नेपालका लागि ललित राजवंशीले ३, पवन सर्राफले २ र कुशल मल्लले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन बनायो । नेपालका लागि सोमपाल कामीले ७५ रन बनाए ।
नवौँ विकेटका लागि सोमपालले प्रतिश जिसीसँग मिलेर ७० बलमा ५८ रन बनाए । अर्जुन साउद र कुशल मल्लले समान १७/१७ रन बनाए । गुलसन झाले १३ र ओपनर आसिफ शेख १२ रन बनाए । अरु नेपाली ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
पाकिस्तान ‘ए’ का लागि शाहनवाज दहानीले ५ तथा मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए । जितसँगै पाकिस्तान ‘ए’ समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । नेपालले दोस्रो खेलमा सोमवार भारत ‘ए’ सँग खेल्नेछ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |