राजविराज, २९ असार । सप्तरीको राजविराजबाट प्रकाशित हुने राजविराज टुडेु दैनिक पत्रिकाको सहयोगमा मातृभूमि प्रतिष्ठान नेपालले हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित वी.पी. स्मारक पब्लिक माध्यमिक विद्यालयका तीन विद्यार्थीलाई उत्कृष्ट पुरस्कार प्रदान गरेको छ ।
राजविराज टुडेको तर्फबाट पत्रिकाको प्रमुख सम्वाददाता धर्मपाल राउतले एक लाख रुपैयाँको चेक मातृभूमि प्रतिष्ठान नेपाल संस्थाका अध्यक्ष सुनिल लोगीलाई हस्ताणतरण गरे । २०७९ सालको एसईई परीक्षामा सर्वाधिक अङ्क ल्याएर उत्तीर्ण भएका उक्त विद्यालयका तीन जना विद्यार्थीहरूलाई जनही २५ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
पुरस्कार पाउनेमा २.७ जीपीए ल्याउने दिपेश कुमार माझी, २.६५ जीपीए ल्याउने पिंकी कुमारी साह र २.३५ जीपीए ल्याउने दिपा कुमारी मिश्र रहेका छन् ।
मातृभूमि प्रतिष्ठान नेपालले संस्थाको अध्यक्ष लोगीको अध्यक्षतामा आयोजना गरेको उक्त पुरस्कार तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारले उक्त पुरस्कार विद्यार्थीहरूलाई हस्तान्तरण गरे ।
प्रमुख अतिथि सुतिहारले समाजिक काममै लागेको पत्रपत्रिकाले शिक्षामा पनि लगानी गर्नु सराहनीय रहेको बताए । उनले सहयोग गरेकोमा राजविराज टुडेका प्रकाशक शम्भु झाको समेत प्रशंसा गरे ।
कार्यक्रममा विद्यालयका शिक्षक शिवशंकर मंडल, भोगेन्द्र प्रसाद साह, स्थानीय युवा संतोष मंडल लगायतका व्यक्तिहरूको उपस्थिति थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |