राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिकाको कञ्चनपुर नगर अस्पतालमा उपचारको क्रममा आइतबार एक युवकको मृत्यु भएपछि अस्पतालमा तोडफोड भएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका वार्ड नम्बर -९ का रामदेव खंगको छोरा वर्ष १६ को ओम प्रकाश खंगको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तजनले सोमबार अस्पतालमा तोडफोड गरेको हो । चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतक आफन्तजन र स्थानीयबासीले सोमबार बिहानैदेखि नारावाजी गर्दै अस्पतालमा ढुङ्गामुढा प्रहार गरेका थिए ।
भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारीहरू पछि हटेको थियो । आन्दोलनका कारण अस्पतालको सम्पूर्ण सेवा ठप्प भएको अस्पताल प्रशासनले जनाएको छ । यसैगरी समस्या समाधानमा कंचनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ता गम्भीर नभएको भन्दै स्थानीयवासीहरूले कंचनरुप नगरपालिकामा समेत तालाबन्दी गरेको छ ।
ओम प्रकाशको हत्या भएको भन्दै दोषीमाथि कारबाही तथा मृतक परिवारलाई क्षतिपूर्तिको उपलब्ध गराउन माग गर्दै स्थानीयबासीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध गर्ने प्रयास गरेका थिए । सोही क्रममा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |