राजविराज, २३ साउन । सोमबारदेखि भएको अविरल वर्षाको कारण तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ३ सकरपुरा डुबानमा परेको छ । वर्षाको पानीको निकास नहुदाँ सकरपुराको राजपुत टोल र राम टोलको २५ भन्दा बढी घरहरू डुबानमा परेको छ ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, वडा अध्यक्ष रमेश मुखिया, विपद् व्यवस्थापन अधिकृत राजेश कुमार झा, सामाजिक विकास शाखाका किशोर कुमार झासहितको टोलीले त्यहाँको स्थलगत अवलोकन गरेका छन् ।
ढलको उचित निकास नभएको कारण सँधै वर्षामा सकरपुरा डुबानमा पर्ने गरेको छ । पानीको बहावको मुख थुनिएका कारण सकरपुरा जलमग्न हुने गर्छ । सामान्य पानी पर्दा पनि सधै डुबान हुने क्षेत्रमा सामान्य निकास दिन नसकेकोमा डुबान क्षेत्रका स्थानीय निराश बनेका छन ।
डुबानमा परेपछि सामान्य रुपमा हिँडडुल गर्न समेत समस्या भएको सकरपुराका स्थानीयहरुले बताउ छन् । यस अघि मधेश प्रदेश सभाका सदस्य सतिश कुमार सिंहले समेत स्थलगत निरीक्षण गरेका थिए।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |