राजविराज, ०५ भाद्र । पत्रकार सौरभ यादवमाथि शुक्रवार राति राजविराज नगरपालिका-२ राजदेवी टोलमा भएको हातपातको घटनामा दुईपक्षबीच मिलापत्र भएको छ ।
हातपातमा संलग्न भएका व्यक्तिहरूले मंगलबार राजविराजस्थित नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कार्यालयमा आत्मआलोचना गरेपछि दुईपक्षबीच मिलापत्र भएको नेपाल पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वास द्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘कुटपिटमा संलग्न भएकाहरूको परिवारको आग्रहमा महासंघले पहलकदमी लिँदै कुटपिटमा संलग्न स्थानीय बब्बु भनिने आलोककुमार यादव र लड्डु यादवले त्रुटीपूर्ण उक्त घटना भएको भन्दै आत्मालोचना गर्दै आगामी दिनमा यस्ता घटना नदोहोरिने भनी प्रतिबद्धताका साथ पत्रकार महासंघका पदाधिकारी तथा अभिभावकहरूको रोहबरमा मिलापत्र भएको विज्ञप्तिमा भनिएको छ ।
समाचारको विषयलाई लिएर कसैलाई कुनै किसिमको गुनासो भएको खण्डमा पत्रकारमाथि आक्रमण गर्नुको साटो आवश्यक प्रमाणसहित कानून बमोजिम सम्बन्धित सञ्चारमाध्यममा खण्डनकालागि पत्राचार गर्न र थप प्रक्रियाका लागि नियामक निकाय प्रेस काउन्सिलसमक्ष पुग्न समेत सम्पूर्ण सरोकारवालामा पत्रकार महासंघ सप्तरी शाखाले आग्रह गरेको छ ।
समाचारको विषय लिएर पत्रकार सौरभलाई शुक्रबार मध्य रातिमा राजविराजको राजदेवी चौकमा बोलाएर आलोक र लड्डुले हातपात गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |