राजविराज, १२ भाद्र । मोटरसाइकल दुर्घटनामा परी कोशी प्रदेशको कनकाई हस्पिटल बिर्तामोडमा कार्यरत २८ वर्षीय डा. नीरज यादवको मृत्यु भएको छ ।
उर्लाबारी -४ स्थित ऊँ सत्य साई पेट्रोल पम्प छेउमा ट्रिपरको ठक्करबाट सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ विरेन्द्र बजार घर भएका २८ वर्षीय डा. यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–००१ क ००९५ नम्बरको ट्रिपर एकापसमा ठोक्किदाँ मोटरसाइकलमा सवार यादव गम्भीर घाइते भएका थिए ।
घाइते यादवको उपचारका लागि तत्काल उर्लाबारी-३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पुर्याइएको भए पनि अस्पताल पुर्याएको केही समयपछि यादवको मृत्यु भएको थियो ।
मोटरसाइकललाई ठक्कर दिने ट्रिपर र चालक मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |