सप्तरी । खडक नगरपालिकाको वडा नं.८ एक समाराेह बिच नगर कै पहिलाे वडा बालविवाह मुक्त वडा घोषणा गरेको छ ।
मंगलवार ८ नं वडा कार्यालय स्थित विसनपुर वडा कार्यालयको प्रङ्गणमा राष्ट्रिय बालदिवसको अवसरमा वडालाई बालविवाह मुक्त घोषणा गरेको हो ।
खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चाैधरीले ८ नम्वर वडालाई बालविवाह मुक्त वडा औपचारिक रुपमा घोषणा गरेका छन।
विगत एक वर्षमा जम्मा वडामा ६३ वटा विवाह भएकोमा २० वर्षमुनि उमेरको ५ वटा र १८ वर्षमुनि उमेरको वटा ४ गरी जम्मा ४ प्रतिशत् मात्र बाल विवाह भएकोले नगरपालिकाको बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका २०७९ ले दिएको अधिकार प्रयोग गरी सुचकहरू पूरा गरेपछि बाल विवाह मुक्त वडा घोषणा गरिएको हो ।
साे अवसरमा खडक नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरीले पालिकाका सबै वडाहरुलाई बालविवाह मुक्त घोषणा गरी नगरपालिकालाई नै बाल विवाह मुक्त नगर घोषणा गर्ने उद्देश्यका साथ सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए ।
यसैगरी नगर उपप्रमुख रिता चौधरीले बाल विवाह बालसंरक्षणको गम्भीर चुनौती तथा दण्डनीय अपराध भएको बताउँदै सबै सूचकहरु पूरा गरी बाल विवाह मुक्त नगर घोषणाका साथ समुन्नत समाज निर्माण गर्नुपर्ने विचार राखिन् ।
८ नं.वडा अध्यक्ष तथा वडा बालअधिकार समितिका संयोजक बिन्दुलाल चौधरीले ८ नं वडा नगरको बालविवाह मुक्त घोषणा गर्ने पहिलो वडा बनेको बताए।
सेभ द चिल्ड्रेन र सबल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र खडक नगरपालिकाको नेतृत्वमा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गत बालविवाह विरुद्वको अभियानको नतिजा स्वरुप बालविवाहमुक्त क्षेत्र घोषणा शुरु गरिएको नगर प्रमुखले कार्यक्रममा जानकारी गराए ।
बाल विवाह मुक्त घोषणा सभामा वडा बालअधिकार समितिका सदस्य राम नारायण साहले वडाको दीर्घकालिन सोच, लक्ष्य र उद्देश्य सहितको बाल विवाह मुक्त वडा घोषणा कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बाल विवाह मुक्त वडा घोषणा सभामा बालक्लबमा आबद्व बालबालिकाहरुले विभिन्न सन्देशमूलक सडक नाटक तथा नृत्यहरु प्रदर्शन गरेका थिए ।
खडक नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि विभिन्न चार चरणहरुको अभियान पूरा गरी वडाहरुलाइ बाल विवाह मुक्त वडा घोषणा गर्न शुरु गरिएको नगरपालिकाका बालकल्याण अधिकारी अनिता कुमारी साहले बताइन् ।
यस अघि सप्तरी जिल्लाकै सुरुङ्गा नगरपालिका जिल्ला तथा मधेश प्रदेशकै पहिलो बालविवाह मुक्त पालिका घोषणा भइसकेको छ भने मधेश प्रदेश सरकारले बालविवाह विरुद्धको दश वर्षे रणनीतिक योजना तर्जुमा गरी बालविवाह विरुद्धका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |