राजबिराज । नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा पहिलो खेल मंगोलियासँग खेल्दैछ । नेपाल र मंगोलियाबीचको खेल बुधबार बिहान ६ : ४५ मा सुरु हुनेछ ।
नेपालसँगको खेलसँगै मंगोलियाले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्नेछ । २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगोलियालाई एसोसिएट टोलीको मान्यता दिएको थियो ।
मंगोलियाले हालसम्म कुनैपनि अन्तर्राष्ट्रिय क्रिकेट खेल खेलेको छैन । नेपालले मंगोलियाविरुद्ध थुप्रै विश्व कीर्तिमानहरु बनाउन सक्ने अनुमान गरिएको छ ।
यस्तो छ मंगोलिया क्रिकेट अवस्था
मंगोलियाले २०१४ देखी बच्चाहरुमा क्रिकेट सिकाउन बढी ध्यान दिँदै आएको छ । स्कुल क्रिकेटमा लगानी बढाएको छ । आइसिसीका अनुसार स्कुल क्रिकेट पछिल्लो समय बढेको छ ।
मंगोलियाको राजधानी उलानबाटरमा ६ प्रान्तबीच क्रिकेट प्रतियोगिता हुँदै आएको छ । मंगोलियन फ्रेन्डसिप क्रिकेट ग्राउन्डमा नेशनल पार्कमा २०१६ देखी क्रिकेट हुँदै आएको छ । २०२० देखी ८ टोलीले मंगोलिया नेशनल टि२० लिग प्रतियोगिता खेल्दै आएका छन् ।
५० ओभरको तीन खेलको सिरिज पनि हुँदै आएको छ । डिसेम्बर देखी मार्च सम्म इन्डोर र जुन देखी सेप्टेम्बर सम्म मैदानमा खेल हुनेछ ।
नेपालबाट पदकको आशा
समूह ए मा रहेको नेपालले आफ्नो अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ । नेपाल क्वाटरफाइनलमा पुग्न औपचारिकता मात्रै बाँकी देखिन्छ ।
क्वाटरफाइनलमा बंगलादेश, भारत, अफगानिस्तान, पाकिस्तान र श्रीलंका छन् । विश्वकपको कारण सबै टेस्ट टोलीले आफ्नो दोस्रो रोजाईको टोली पठाएका छन् ।
क्वाटरफाइनलमा समूह ए, बी र सी बाट शीर्ष तीन टोली आउनेछन् । ड्रबाट क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । नेपालले एसियाली क्रिकेटमा पदकको ठूलो अपेक्षा राखेको छ ।
नेपाली क्रिकेट टोली आइतबार नै चीनतर्फ लागेको छ । सन्दीप भने आइतबार पेशीको कारण सोमबार मात्रै जानेछन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |