राजविराज । नेपाली क्रिकेट टोलीले मंगोलिया विरुद्ध कीर्तिमानी जित हासिल गरेको छ ।
चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार बिहान भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी अन्तरसहित पराजित गरेको हो।
२०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएको थियो । उक्त रेकर्ड मंगोलियाविरुद्धको खेलमा नेपालले ब्रेक गरेको हो ।
नेपाली ब्याटर कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको विस्फोटक ब्याटिङमा नेपालले कीर्तिमानी जित दर्ता गरेको हो । यो खेलमा नेपालले ३१४ रनको कीर्तिमानी स्कोर बनाएको थियो ।
३४ बलमा शताब्दी रन हानेर कीर्तीमानी बनाएका मल्लले ५० बल खेल्दै १३७ रन बनाए भने ९ बलमा ५० रन हानेर कीर्तीमान बनाएका ऐरीले १० बल खेल्दै ५२ रन बनाए ।
यस्तै नेपालका क्याप्टेन रोहित पौडेलले २७ बलमा ६१ रनको योगदान गरे । ओपनरद्वय कुसल भुर्तेलले १९ र आसफ शेखे १६ रन बनाए । नेपालले दिएको ३१५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो ।
मंगोलियाका दभासुरेनले २ चौका मद्दतमा १० रन बनाउनुबाहेक अरु कसैले दोहोरो अंक जोड्न सकेनन् । तर, अतिरिक्तबाट मात्रै मंगोलियाले २३ रन पाएको थियो ।
मंगोलियालाई सस्तैमा समेट्ने क्रममा नेपाली बलर करण केसी, अविनाश बोहोरा र सन्दीप लामिछानेले २/२ विकेट लिए भने सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले एक/एक विकेट लिए ।
समूह चरणको अर्को खेल नेपाल र माल्दिभ्सबीच १ अक्टोबरमा हुनेछ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |