राजविराज । नेपाल पत्रकार महासंघ, शाखा सप्तरीका सदस्य एवं रेडियो नेपालका सम्वाददाता संजिब बिक्रम साहमाथि भएको हातपातको नेपाल पत्रकार महासंघले भर्त्सना गरेको छ । साह माथि जनमत पार्टीका कार्यकर्ताले हातपात गरेको महासंघले जनाएको छ ।
डाक्नेश्वरी नगरपालिकामा पोखरी ठेक्का सम्बन्धमा स्थानीयले गरिरहेको प्रदर्शनको रिपोर्टिङ गर्न गएका पत्रकार साहलाई जनमत पार्टीका स्थानीय कार्यकर्ताहरू अमरेन्द्र यादव र अनिल यादवले हातपात गरेका हुन् । यी दुवैले एक्कासि आफूलाई ताकेरै हातपात गरेको पत्रकार साहले बताएका छन् ।
नेपाल पत्रकार महासंघ, शाखा सप्तरीका सचिव रामनारायण विश्वासले एक विज्ञप्ति जारी गर्दै आक्रमणको घटनालाई गम्भीरतापूर्वक लिएर आक्रमणमा संलग्न पत्रकार साहमाथि हातपात गर्ने दुवैलाई कानुन बमोजिम कार्वाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । कार्वाही नगरिए हामी आन्दोलनमा उत्रने विज्ञप्तिमा भनिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |