राजविराज । गणतन्त्र नेपालका प्रथम डा. राष्ट्रपति रामवरण यादवले चुरे विनाशका कारण तराई मधेशमा मरुभूमिकरणको खतरा बढेकोले जोगाउनका लागि सचेत बन्नुपर्ने समय आएको बताए ।
राजविराजमा बुधबार कर्मवीर योद्धा खुशीलाल मण्डलको नागरिक अभिनन्दन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै डा. यादवले अन्न र जलको भण्डारको रुपमा चिनिदै आएको स्वर्गसमान तराईमा पानीको सतह तल जाँदै गरेको र ठाउँ- ठाउँमा पानीको अभाव नै देखिएको कारण चुरे जोगाउनका लागि सचेत बन्नुपर्ने समय आएको बताए ।
“चारदशक अघिसम्म अन्न निर्यात गर्ने अवस्थामा हामी थियौं, गरिवले पनि प्रयाप्त माछा खान पाउँथे, साग सब्जीको अभाव थिएन” उनले भने ” तर यी सबै कुराहरू एकादेशको कथा झै बन्नाको कारण चुरे विनाश नै हो । चुरेलाई जोगाउने तिर लाग्नुभन्दा सरकारनै बालुवा, गिट्टी, ढुङ्गा बाहिर पठाउने कानुन बनाउनेतिर लागेको भन्दै उनले थपे ” यस्तै हो भने केही समयपछि तराई मरुभूमि बन्ने र गाउँ बस्तुको सट्टा उट चराउने अवस्था आउनसक्छ । ”
पुर्व निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवको अध्यक्षतामा आयोजित अभिनन्दन कार्यक्रममा पुर्व सभामुख दमननाथ ढुंगानाले अभिनन्दित मण्डलमा विश्लेषण गर्ने अद्भुत क्षमता रहेको र ऊनी लोकतन्त्रप्रति समर्पित योद्धा रहेको बताए ।
अभिनन्दन कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादव, नवलकिशोर साह, राष्ट्रियसभा सदस्य शेखर कुमार सिंह, प्रदेशसभा सदस्य ललिता बिद्रोही तत्मा, जितेन्द्र सोनल, पुर्व जिविस सभापति विरबल बिराजी लगायतकाले पनि अभिनन्दित मण्डलको योगदान बारे चर्चा गरेका थिए । कार्यक्रमको आयोजना सप्तरी-सिरहा नागरिक समाजले गरेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |