राजबिराज । राजविराज- १ चनौरा पडरियास्थित आशीमियाँ दारुलउलम मदरसामा तलब नपाएको भन्दै तालाबन्दी गरिएको छ ।
मंगलबार प्रधानाध्यापक र शिक्षकहरूको अगुवाइमा तालाबन्दी गरिएको हो । शिक्षकशिक्षिकाहरूले मदरसा व्यवस्थापन समितिका अध्यक्ष आसिन मियाँको हठका कारण विगत तीन महिना देखि तलब खान नपाएको भन्दै उनीहरू तालाबन्दी गरेको हो ।
मदरसाको बैंक खाता अध्यक्ष आसिन मियाँ र प्रधानाध्यापक रुबीना बेगमको संयुक्त नाममा संचालन छन् । तलब खान पुग्ने गरी खातामा रकम मौज्दात रहँदा रहँदै पनि पूर्वाग्रह राखी तथा दुःख दिने मनसायले चेकमा हस्ताक्षर गर्न न मानेपछि त्यहाँ कार्यरत ५ जना शिक्षक÷शिक्षिका र मोलबीले विगत तीन महिनादेखि तलब खान नपाएको प्रधानाध्यापक रुबीना बेगमले बताइन ।
मदरसामा प्रधानाध्यापक बेगम, मौलबी मो।युनुस, कार्यालय सहायक रोशन खातुन तथा बाल विकास शिक्षिका तर्फ रक्षा चौधरी र प्रमिला कुमारी यादव गरी ५ जना कार्यरत छन् ।
उनीहरूले गत साउन, भदौ र असोज महिनाको तलब तथा दशै खर्च समेत पाउन सकेका छैनन् । २४ जना छात्र र ६२ जना छात्रा गरी कुल ८६ जना विद्यार्थी रहेको मदरसामा उर्दु, अरबी, दिनियातका साथै नेपाली, अंगे्रजी र गणित विषयको पढाई हुन्छ । पठाई अब्बल रहेपनि अध्यक्षको मनोमानीका कारण बेला बेलामा विवाद उत्पन्न हुने गरेको अभिभावक मो।सदरुलले सुनाए ।
मदरसामा कार्यरत शिक्षक, शिक्षिका, मौलवी र कार्यालय सहायकलाई अध्यक्ष आसिनले घरको नौकर जस्तै व्यवहार गर्न थालेपछि विवाद उत्पन्न हुने गरेको तथा यसले बालबालिकाको पठन पाठनमा समेत असर पर्न थालेको अर्का अभिभावक हसिना वेगमको भनाई छ ।
राजविराज नगरपालिका शिक्षा शाखा मार्फत उक्त मदरसालाई दिदै आएको २ लाख ४१ हजार रुपैया मध्येबाट मासिक ८ हजार ३ सय ३३ रुपैयाँ तलबमा शिक्षकहरू काम गर्दै आएका छन् ।
मदरसाका प्रधानाध्यापक रुबीना बेगमले केही दिन अघि मात्र नगरपालिकाबाट अनुदान स्वरुप आउने वार्षिक २ लाख ४१ हजार मध्ये ४१ हजार मदरसा व्यवस्थापन समितिका अध्यक्ष आसिन मियाँले स्वयम् लिने गरेको र बाँकी २ लाखबाट आफूहरू तलब लिने गरेको सार्वजनिक गरेकी थिइन ।
सोही कारणले रिसाएका अध्यक्ष आसिनले चेकमा हस्ताक्षर गर्न नमानेको र गल्ती स्वीकार्न दवाब दिन थालेको मौलवी मो।युनुसको भनाई छ । मदरसा व्यवस्थापन समितिका अध्यक्ष आसिनले भने शिक्षकहरूले आफूलाई नटेर्ने तथा आफू विरुद्ध गलत प्रचारबाजी गरेको दाबी गरेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |