राजविराज । सप्तरीको राजविराज नगरपालिका-७ बस्ने एकजना व्यक्तिलाई छोरालाई अपहरण गरेको भन्दै धम्की दिएर पैसा ठगने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका-६ मा बस्ने २६ वर्षीय सविन मैनाली, सोही नगरपालिकाको वडा नं. १० मा बस्ने २७ वर्षीय शुभम मैनाली र सुनसरीको धरान उप महानगरपालिका-३ बस्ने १९ वर्षीया आशिका बराइली रहेका छन् ।
उनीहरूले फागुन ५ गते +९२३२५०१६९१३५ नम्बरको ह्वाट्सएप बाट कल गरी ‘तपाईंको छोरा मेरो कब्जामा छ, छोरा चाहिन्छ भने मैले भने बमोजिम रकम पठाउनुस्, यो कुरा अन्य कसैलाई जानकारी गराएमा तपाईंको छोरालाई ज्यानले मारी दिन्छु’ भन्दै धम्की दिएका थिए । यसरी डर त्रास देखाई विभिन्न व्यक्तिहरूको फरकफरक खातामा १२ लाख ८० हजार रुपैयाँ जम्मा गर्न लगाएको मधेस प्रदेश प्रहरी कार्यालयले बताए ।
यस विषयमा अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट परिचालित प्रहरी टोलीले ठगीमा संलग्न देखिएका उनीहरूलाई फागुन १८ गते पक्राउ गरेको हो । पीडितको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा ठगी (अनलाइन) शीर्षकमा मुद्दा दर्ता गरी गत शुक्रबार पक्राउ गरेको उनीहरूलाई जिल्ला अदालत सप्तरीबाट अनुसन्धानको लागि दिन ७ म्याद थप गरी अनुसन्धान भइरहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |